१० साउन २०८३, आइतबार

विश्वकपको लिग चरणमा भारतको शतप्रतिशत नतिजा, पुछारमा नेदरल्यान्ड्स [अंक तालिकासहित]

कात्तिक २७, २०८०
काठमाडौं
विश्वकपको लिग चरणमा भारतको शतप्रतिशत नतिजा, पुछारमा नेदरल्यान्ड्स [अंक तालिकासहित]

एकदिवसीय क्रिकेट विश्वकपको लिग चरणमा आयोजक भारतले ९ खेलमा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि नै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको भारतले आइतवार लिग चरणको अन्तिम खेलमा पनि जीत निकालेको हो । 

यसअघिका ८ वटै खेलमा भारत विजयी भएको थियो । नवौं खेल पनि जीतेपछि भारतले सर्वाधिक १८ अंक जोडेको छ ।  

अन्तिम खेलमा घरेलु टोली भारतले दिएको ४११ रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले भेट्टाउन सकेन ।

नेदरल्यान्ड्सले ४७.५ ओभरमा २५० रन मात्र बनाउन सक्यो । यससँगै भारत १६० रनको फराकिलो अन्तरले विजयी भएको हो । 

नेदरल्यान्ड्का लागि तेजा निदामनुरूले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रवीन्द्र जडेजाले सर्वाधिक २–२ विकेट लिए । भारतीय टोलीले नयाँ प्रयोग गर्दै ब्याटरलाई पनि बलिङ गर्न दिएको थियो । जसमा कप्तान रोहित शर्मा र विराट कोहलीले १–१ विकेट लिए । 

यसअघि बेंग्लोरमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो ।

भारतका लागि २ खेलाडीले शतक तथा ३ ले अर्धशतकीय पारी खेले । श्रेयस एय्यरले अविजित रहँदै सर्वाधिक १२८ तथा केएल राहुलले १०२ रन बनाए ।

यस्तै, कप्तान रोहित शर्माले ६१, शुभमन गिल र विराट कोहलीले ५१–५१ तथा सूर्यकुमार यादवले अविजित २ रन जोडे ।  

नेदरल्यान्ड्सका लागि बस डे लीडेले सर्वाधिक ३ विकेट लिए । 

भारत समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेकाले उसका लागि यो खेल महत्वपूर्ण थिएन । तर च्याम्पियन्स ट्रफीमा स्थान बनाउनका लागि नेदरल्यान्ड्सका लागि भने महत्वपूर्ण थियो । तर उ पराजित भएपछि च्याम्पियन्स ट्रफीमा स्थान बनाउनबाट बञ्चित भएको छ ।

नेदरल्यान्ड्स ४ अंकसहित तालिकाको अन्तिममा रहन पुगेको छ । समान अंक भएका बंगलादेश र श्रीलंका नेट रनरेटका आधारमा क्रमशः आठौं र नवौंमा रहे । बंगलादेश भने च्याम्पियन्स ट्रफीमा छनोट भएको छ ।

भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्डले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएका छन् ।

पाकिस्तान, अफगानिस्तान र साविक विजेता इंग्ल्यान्ड क्रमशः पाँचौ, छैटौं र सातौं हुँदै प्रतियोगिाताबाट बाहिरिए ।   

घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग नोभेम्बर १५ मा खेल्नेछ । यस्तै, दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियासँग १६ तारिखमा भिड्नेछ । १९ तारिखमा गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सेमिफाइनलका विजेता २ टोलीबीच उपाधि भिडन्त हुनेछ । 

हेरौं अंक तालिकाः

null 


 

salt training

कमेन्ट गर्नुहोस्