
म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिखस्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुुङ्गे पुुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दुु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुल बनेपछि जङ्गल, भीर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको बताए ।
‘किन्दु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न स्वाँत खोलाको घुुमाउरो बाटो प्रयोग गर्दा ४५ मिनेट लाग्ने गरेको थियो,’ उनले भने, ‘पुल बनेपछि २० यात्रा अवधि २० मिनेटमा छोटिएको छ ।’
पुुलबाट शिख, किन्दु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुुरी लाभान्वित भएका अन्नपूूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताए । ‘सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४.८ मिटर लामो र एक सय ४० मिटर भन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो,’ उनले भने, ‘गत वैशाखदेखि शुरू भएको पुल निर्माण कार्य सकिएपछि यसै महिनादेखि प्रयोगमा आएको हो ।’
पुल बनेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई सहज भएको निरवाङका ८० वर्षीय कुलबहादुर पुर्जाले बताए । ‘गाडीले निरवाङको छेउमा ल्याउने सामान किन्दुका बासिन्दाले बोकेर गाउँमा लैजान्छन् । गाडी चढ्न पनि पुुल तरेर यही आउँछन्,’ उनले भने, ‘पुल हेर्न वरपरका गाउँबाट दैनिकजसो मानिस आइरहेका छन् ।’
शिखदेखि ढाडखर्क, खोपारा जाने र आउने पर्यटकलाई पनि आवतजावत गर्न सहज भएको छ । किन्दु, धोस्केखोरका बासिन्दाले उत्पादन गरेको आलु, सिमी बजार पढाउन पुलले सजिलो बनाएको छ । यो अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुल भएको वडा अध्यक्ष तिलिजाले बताए ।
म्याग्दीमा शिखको स्वाँतखोलासहित तीन सय मिटरभन्दा लामो चार वटा झोलुङ्गे पुल निर्माण भएका छन् । यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धौलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर र बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएका थिए ।