२१ जेठ २०८३, बिहीबार

गर्भवतीको घरमा निलो झण्डा

मंसिर २, २०८०
हुम्ला
गर्भवतीको घरमा निलो झण्डा
फाइल तस्वीर

हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । उनीहरूको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उनले बताए । 

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताए । सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दशैं र तिहारका बीचमा निलो झण्डा वितरण गरिएको जनाउँदै ‘गर्भवती पहिचान घर कार्यक्रम’अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उनले बताए । 

'स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुनेछ । यो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान गरेका छौँ,' स्वास्थ्य संयोजक भण्डारीले भने, 'पालिकाभित्रका वडा १ देखि ८ सम्म शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका छौँ ।' झण्डाले घर पहिचान हुने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज उनले बताए । 

भण्डारीका अनुसार सिमकोट गाउँपालिका वडा १ मा आठ, २ मा १५, ३ मा दुई, ४ मा चार, ५ मा १६, ६ मा १२, ७ मा २३ र ८ मा ३० जना सुत्केरी गराउनेको सङ्ख्या रहेको छ ।

ग्रामीण भेगमा आर्थिक अभाव, जनचेतनाको कमी, रुढीवादी परम्परालगायत कारणले घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुने भएकाले झण्डामार्फत घर पहिचान गरेपछि स्वास्थ्यकर्मीले विशेष प्राथमिकतामा सेवा प्रदान गर्न सक्ने स्वास्थ्य शाखा संयोजक भण्डारीको भनाइ छ । उनका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ । 

‘कुपोषण पहिचान घर कार्यक्रम’

हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले पालिकालाई कुपोषण मुक्त बनाउन ‘कुपोषण पहिचान घर कार्यक्रम’ सुरु गरेको छ । कुपोषित सहजै पत्ता लगाउन १ देखि ८ नं वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको हो ।

छ महिनादेखि २३ महिनासम्मका बालबालिका बढी कुपोषण हुने भएकाले कुपोषण पहिचान गरी ‘मध्यम शीघ्र कुपोषण’को घरमा पहेंलो र ‘कडा शीघ्र कुपोषण’ भएका बालबालिकाको घरमा रातो झण्डा राख्ने कार्य सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक वसन्ती रावतले जानकारी दिइन् । उनका अनुसार बालबालिकामा ‘स्क्रिनिङ’ गर्न सुरु गरिएको छ ।

शाखाले १ देखि ८ नं वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १९ जनामा कुपोषण भएको पाइएको सहसंयोजक रावतले जानकारी दिइन् । गाउँपालिका मातहतका स्वास्थ्य चौकीअन्तर्गतका सबै वडामा गरी १९ बालबालिका कुपोषित रहेको पाइएपछि उनीहरुको घरमा दुई किसिमको झण्डा राखिएको उनले बताइन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्