०९ साउन २०८३, शनिबार

अस्ट्रेलियाबाट पनि ‘हाम्रो पात्रो’मार्फत् रेमिटेन्स पठाउन सकिने, शुरूका तीन कारोबार निःशुल्क

मंसिर ४, २०८०
काठमाडौं
अस्ट्रेलियाबाट पनि ‘हाम्रो पात्रो’मार्फत् रेमिटेन्स पठाउन सकिने, शुरूका तीन कारोबार निःशुल्क

नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अस्ट्रेलियामा पनि रेमिटेन्स सेवा शुरू गरेको छ । यसअघि अमेरिकामा सेवा शुरू गरिसकेको कम्पनीले सोमवारदेखि अस्ट्रेलियामा समेत सेवा शुरू गरेको हो ।

यससँगै अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत् नेपालमा रेमिटेन्स पठाउन सकिने भएको छ । अस्ट्रेलियाबाट रेमिटेन्स पठाउँदा शुरूका तीन कारोबार नि:शुल्क हुने कम्पनीले जनाएको छ । 'अस्ट्रेलियामा रहेका ग्राहकको स्वागतार्थ हाम्रो रेमिटेन्स सेवामा पहिलो तीन कारोबार निःशुल्क गरेका छौं,' हाम्रो पात्रो इंककी फिनटेक निर्देशक सुदीना गौतमले भनिन्, 'यो अफरअन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरूले तीन पटकसम्म रेमिटेन्स पठाउँदा कुनै शुल्क लाग्दैन ।'

हाम्रो पात्रो एपभित्रैबाट यो रेमिटेन्स सेवा प्रयोग गर्न सकिने उनले बताइन् । 'हाम्रो ध्यान पारदर्शी र प्रयोगकर्तामैत्री डिजिटल कारोबार सुविधा उपलब्ध गराउनेतर्फ रहेको छ,' गौतमले भनिन्, 'यो सेवा अस्ट्रेलियामा विस्तार गर्न पाउँदा अत्यन्तै उत्साहित छौं ।'

कम्पनीले विश्वको रेमिटेन्स सेवालाई सरल र सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । ग्राहकबाट प्राप्त विश्वास र साथले आफूहरूलाई नियमित वृद्धिको बाटोमा अगाडि बढ्न सघाएको उनले बताइन् । 

कम्पनीले क्रमशः अन्य देशहरूमा समेत आफ्नो रेमिटेन्स सेवा विस्तार गर्ने योजना बनाएको छ । आउँदो नयाँ वर्षसम्म जापानमा समेत सेवा शुरू हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार हाम्रो पात्रोको एपमा जानेवित्तिकै त्यहाँ रेमिटेन्स अप्सन देख्न सकिन्छ । त्यसमा थिचेर ग्राहकले रजिस्टर गर्न सक्नेछन् । रजिस्टर गर्न आफ्नो फोटो र आवश्यक अन्य कागजात राखेर केवाईसी भेरिफाई (प्रमाणीकरण) गराउनु पर्ने हुन्छ । अकाउन्ट भेरिफाई गरेसँगै हाम्रो पात्रोको रेमिटेन्स सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्