३१ असार २०८३, बुधबार

थाइल्यान्डमा १५० भन्दा बढी छेपारा समातियो

मंसिर ७, २०८०
काठमाडौं
थाइल्यान्डमा १५० भन्दा बढी छेपारा समातियो

बैङ्कक–थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (एक जातका छेपाराहरू)लाई समातिएको अधिकारीहरूले बताएका छन् ।

छेपारा थाइल्यान्डका मूल जीव होइनन् । यी मूलरूपमा मध्य र दक्षिण अमेरिकाका हुन् । यद्यपि थाइल्यान्डमा यिनीहरू घरपालुवा जीवका रूपमा अत्यन्त लोकप्रिय छन् । 

घरपालुवा जीव मानिने शाकाहारी छेपारा घरबाट भागेका हुन् वा जानाजानी जङ्गलमा छाडिएको हो भन्दै यिनीहरूको गतिविधिमाथि वातावरणीय चिन्ता व्यक्त गरिएको छ । 

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डीएनपी)ले मङ्गलवार बैङ्ककबाट एक सय ६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा एक सय ३४ इगुआना समातिएको बताएको छ । देशको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप छ वटा र अन्य स्थानबाट थप २३ वटा फेला परेका छन् । 

‘धेरै इगुआना लोबुरी प्रान्तको जङ्गलमा बस्दै आएका छन् र कृषकहरूको कृषि उपजलाई नष्ट गरिरहेका छन्,’ डिएनपीको एक विज्ञप्तिमा भनिएको छ, ‘तीव्ररूपमा बढिरहेको इगुआनाको सङ्ख्याले पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई असर गरिरहेको छ, यसबाट स्थानीय बासिन्दालाई समस्या भइरहेको छ ।’

एक दशमलव पाँच मिटरभन्दा बढी लामो हुनसक्ने चिसो रगत भएका इगुआनालाई बैङ्ककको उत्तरपूर्वी नाखोन नयोकस्थित वन्यजन्तु केन्द्रहरूमा राखिने छ । डिएनपीका अनुसार ६१ प्रान्तका करिब दुई सय ६० व्यक्तिले अधिकारीहरूलाई उनीहरूसँग तीन हजार छ सयभन्दा बढी इगुआना भएको जानकारी दिएका छन् । 

यसै साताको सुरुमा अधिकारीहरूले वातावरणीय सरोकारका कारण यस्ता जीवमाथिको आयातमा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूका अनुसार उल्लङ्घन गर्नेलाई अधिकतम १० वर्ष जेल र १० लाख भाटसम्म जरिवाना हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्