
व्यक्ति हत्या गरेर लुक्दैछिप्दै बसेका मोरङका दुईजना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका –१ का ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षका देवीप्रसाद राई छन् ।
अब उनीहरूले जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि भोग्नुपर्ने अवस्था आएको छ ।
उनीहरूले २०६४ जेठ २० गते राति मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ बस्ने जाहेरवाला सुकजित राईका दाजु ३५ वर्षका सन्तोष राईलाई धनकुमारसमेतले कुटपिट गरी हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरूले जंगलमा लगी शव गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
अनुसन्धानपछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई पाँच वर्ष कैद सजाय ठहर गरेको थियो । उनीहरूले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसाद ५४ वर्षका थिए ।
अपराध गरेको १६ वर्षपछि उनीहरूलाई मंगलवार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि मोरङ अदालत बुझाएर कैद भुक्तानको लागि जिल्ला कारागार पठाएको छ ।
यसअघि पनि प्रहरीले खुनडाका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको थियो । प्रहरीले कटहरी गाउँपालिका ७ का ८७ वर्षे विश्वास चौधरी थारू ३६ वर्षपछि खुनडाका मुद्दामा पक्राउ परेका थिए । थारूविरूद्ध ०४२ सालमा जिल्ला अदालत मोरङमा खुनडाका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । ०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । ०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।
सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्षअघिको मुद्दामा बल्ल भदौ ९ गते उनी पक्राउ परे । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।
यस्तै विराटनगर महानगरपालिका ३ का ८५ वर्षे धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाका समूह फर्कियो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो । अदालतको फैसलापछि प्रहरीले उक्त घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो ।