१० साउन २०८३, आइतबार

काठ तस्कर जोगाउन चलखेल, वन कर्मचारीलाई तारन्तार कांग्रेस नेताको फोन

मंसिर ८, २०८०
विराटनगर
काठ तस्कर जोगाउन चलखेल, वन कर्मचारीलाई तारन्तार कांग्रेस नेताको फोन

मोरङको केराबारी गाउँपालिका-९ र सुन्दरहरैंचा नगरपालिकाको लोहन्द्रास्थित केराबारी साझेदारी वनबाट संगठित रूपमा काठ तस्करी गर्ने समूहलाई उन्मुक्ति दिन चलखेल शुरू भएको छ । घना जंगलभित्र जेसीबीले लोडगरी टिपरमा हालेर सालको काठ मिलसम्म ल्याउने गिरोहलाई मिलेमतोमा उन्मुक्ति दिने प्रयास भएको हो ।

डिभिजन वन कार्यालय मोरङले गरेको प्रारम्भिक चरणको अनुसन्धानमा मिल सञ्चालकदेखि टिपर र जेसीबी सञ्चालकसम्मको मिलेमतोमा जंगलबाट सालको काठ चोरी तस्करी गरेको खुलेको थियो । शनिबार बिहान मोरङको सुन्दरहरैंचाको एक काठ मिलबाट चोरीको काठसहित मिल सञ्चालकसमेत पक्राउ परेका थिए ।  अनुसन्धान गर्दा जेसीबी र टिपर प्रयोग गरेर काठ तस्करी गरेको पाइएको वनकै कर्मचारीले बताएका थिए । 

सव डिभिजन वन कार्यालय सलकपुरका अनुसार काठ तस्करीमा गोलिया काठ काट्न विद्युतीय आरा प्रयोग भएको देखिएको छ । काटेको काठ टिपरमा लोड गर्न जेसीबी लगिएको पाइएको कार्यालयका एक अधिकृतले बताए । काठ तस्करीमा संगठित समूह रहेको वन कार्यालयको बुझाइ छ ।

सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान सुन्दरहरैंच–१ हरैंचा बजारबाट चोरी गरेर काठ मिलसम्म पुर्‍याएको २ लाख रुपैयाँभन्दा बढीको काठ बरामद गरेको थियो । टिपरमा लोड भएको सालको काठ बरामद गरेपछि प्रहरीले मिल सञ्चालकलाई पनि पक्राउ गरेको थियो । टिपरधनी र चालक अझै पक्राउ परेका छैनन् । टिपर कसको हो भन्ने खुले पनि डिभिजन वन कार्यालयले नाम सार्वजनिक गर्न मानेको छैन । 

टिपरमा लोड भएको पाँच वटा सालको टुना (३८.९ क्यूफिट) बरामद गरेको ५ दिन बितिसक्दा पनि टिपरधनी पत्ता लगाउन नसक्नुले मिलेमतोको आशंका गरिएको छ । घटना भएको एक साता हुनलाग्दा पनि थप व्यक्ति र घटनामा संलग्न भएको उपकरण नियन्त्रणमा लिन नसक्नुले वन कार्यालयले अन्य आरोपीहरूलाई जोगाउन खोजेको आशंका स्थानीयले गरेका छन् ।

वन सुरक्षा टोलीले टुना बोकेको को १ ख ४४२८ नम्बरको टिपर नियन्त्रणमा लिएर नेहा स–मिलका सञ्चालक बिन्देश्वर साहलाई पक्राउ गरेको थियो । मिल सञ्चालक र टिपरको अनुसन्धान गर्दा तस्करीमा संलग्न अन्य व्यक्ति पक्राउ पर्ने निश्चित छ । तर, अहिले राजनीतिक दबाबमा अनुसन्धान नै अगाडि नबढेको स्रोतले जनाएको छ ।

डिभिजन वन कार्यालयले पक्राउ परेका काठम मिल सञ्चालक साहलाई पनि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोडने आदेश दिएको छ । बिरामी भएको कारण देखाउँदै बोलाएको बेला उपस्थित हुने सर्तमा सरकारी वकिलको कार्यालयले साहलाई हाजिर जमानमा छोड्न आदेश दिएको सहायक वन अधिकृत दिपेशकुमार मिश्रले बताए । 

डिभिजन वनले साहलाई दोस्रो पटक वन ऐनअन्तर्गत म्याद थप गर्न लगेको थियो । तर, साहले सोडिएम बढेको हस्पिटलको रिपोर्ट देखाएर हाजिर जवानीमा छोड्न सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बोलाएको बेला उपस्थित हुने सर्तमा उनलाई छाड्न आदेश दिएको हो ।

कांग्रेसका जिल्ला स्तरका नेताहरूले दबाब दिएका कारण कर्मचारीहरूले काठ चोरी प्रकरणलाई कमजोर बनाउन थालेको स्रोत बताउँछ । ‘जमानतमा नछोडेसम्म कांग्रेसका जिल्ला स्तरका नेताहरूको फोनमा घन्टी रोकिएन,’ एक कर्मचारीले भने, ‘फोन गर्नेको नाम भनौं भने हाम्रो जागिर कता पुग्छ भन्ने टुंगो छैन ।’

सहायक वन अधिकृत मिश्रले टिपर धनी, चालक र यस घटनामा संलग्न अन्यलाई पक्राउ गर्न लागिरहेको बताए ।  टिपर धनी पत्ता लगाउन यातायात व्यवस्था कार्यालयमा बुधबार पत्राचार गरेकोमा कार्यालयले जानकारी दिएपछि धनी पक्राउ पर्ने उनको दाबी छ । चाडपर्वले गर्दा केही ढिलो भए पनि तस्करीमा संलग्नहरू पक्राउ पर्ने वन कार्यालयको दाबी छ ।


 

salt training

कमेन्ट गर्नुहोस्