
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानलाई काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्न नदिने भएको छ । अध्यक्ष प्रसाईंले गलत मनसायका साथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न नदिने प्रशासन कार्यालयले स्पष्ट पारेको हो । जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।
प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित भएर आन्दोलन गर्ने प्रसाईंले बताएका थिए । जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका थिए ।
सकेसम्म तीनकुनेमै विरोध प्रदर्शन गर्ने समूहको अडान छ । तर, वैकल्पिक स्थानबारे पनि छलफल भइरहेको अभियानका सहससंयोजक राजानन्द मान्डव्यले बताए । 'सकेसम्म तीनकुनेमै कार्यक्रम गर्ने हाम्रो योजना छ । तर, प्रशासनले दिन्न भनेको छ,' उनले भने, 'नभए वैकल्पिक स्थानबारे पनि छलफल भइरहेको छ । कहाँ जाने भन्ने पक्का भएको छैन ।'
बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।