
काठमाडौंमा गणतन्त्रविरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा सुरक्षा बढाइएको छ ।
भक्तपुरको ठिमीस्थित घरमा सुरक्षा बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले प्रसाईंको घर वरपर सुरक्षा बढाइएको जानकारी दिइन् ।
उनले प्रसाईंलाई नजरबन्द गरिएको भन्ने कुरा गलत भएको बताइन् । ‘सुरक्षाका कारण उहाँको घरमा सुरक्षा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्नुभयो भने, कार्यक्रममा सहभागी हुनबाट पनि रोक्दैनौं,’ श्रेष्ठले लोकान्तरसँग भनिन् ।
बिहीवार काठमाडौंको बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
प्रशासनले भने तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको बताएको छ । प्रसाईं समर्थकहरू तीनकुने या बल्खु कता जाने भनेर अलमलमा परेको देखिएको छ ।