
व्यवस्था उल्ट्याउन भन्दै बिहीबारदेखि काठमाडौंमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले आफू घरमा नजरबन्दमा परेको दाबी गरेका छन् ।
भक्तपुरको ठिमीस्थित निवासबाट शुक्रवार बिहान साढे ११ बजे सम्बोधन गर्दै प्रसाईंले आफूलाई हिरासतमा लगेर थुन्न चेतावनी दिएका हुन् ।
‘म हाउस एरेस्टमा छु । मलाई एरेस्ट गरेर केही हुँदैन, सक्नुहुन्छ भने मलाई तपाईंहरूको हिरासतमा लैजानुस्, हाउस एरेस्ट गरेर केही फरक पर्दैन,’ प्रसाईंले भने ।
सामान्यतया नजरबन्द गरिएको व्यक्तिले मिडियामा बोल्न या भाषण गर्न पाइँदैन ।
प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यापारीको पोल्टामा गएको आरोप लगाए ।
‘तपाईंहरू कम्युनिस्ट होइन, तपाईंहरू व्यापारी हो,’ प्रसाईंले भने । शुक्रबार ११ बजे हुने भनिएको प्रसाईंको आन्दोलन कहाँ हुने भन्ने अन्योलता देखिएको छ ।
प्रसाईंले आफूलाई घरबाट निस्किन नदिइएको भन्दै तीनकुने जान समर्थकहरूलाई अपिल गरेका छन् । आफू निस्किन नपाएपछि सबै कमान्डर बनेर खटिने उनको भनाइ छ ।