
भारतको उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ मजदुरलाई निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । १६ दिनदेखि फसेका उनीहरूलाई निकाल्ने काम अन्तिम चरणमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उत्तरकाशीको सिल्कयारा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धारका लागि गरिएको अपरेसनको पछिल्लो अवस्थालाई भारतीय सरकारी एजेन्सी एएनआईले देखाएको छ । जसलाई ड्रोनले खिचिएको छ । जहाँ सुरक्षाकर्मीसहितको उद्धार टोली हरसम्भव प्रयास गरिरहेको देख्न सकिन्छ ।
उद्धार कार्यसँगै सुरुङभित्र अस्थायी मेडिकल सुविधा विस्तार गरिएको छ । फसेका कामदारलाई बाहिर निकालेपछि यही ठाउँमा स्वास्थ्य सुविधा दिइरहेको बताइएको छ । कुनै पनि समस्या परेमा स्वास्थ्य संस्थाले ८ शय्याको व्यवस्था पनि गरिएको छ ।
यसैबीच, उद्धारका लागि हेलिकप्टर पनि सुरङनजिकै आइसकेको छ । उद्धार गरेका घाइते मजदुरलाई तत्कालै अस्पतालमा पुर्याउनका लागि हेलिकप्टर तैनाथ गरिएको हो ।
निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका हुन् ।