२१ जेठ २०८३, बिहीबार
विदेशिएका नेपालीको व्यथा

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका गंगाराज, जो २ महिनाअघि मात्रै रुस गएका थिए

मंसिर १३, २०८०
विराटनगर
रुस–युक्रेन युद्धमा ज्यान गुमाएका गंगाराज, जो २ महिनाअघि मात्रै रुस गएका थिए

रुस–युक्रेन युद्धमा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । रुसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर ३ नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन रुसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको हो । तर २ सातापछि मात्र घटना सार्वजनिक भएको छ ।

दूतावासका अनुसार मृत्यु हुनेमा इलाम नगरपालिका–९ का गंगाराज मोक्तान पनि छन् । उनी रुसको बंकरभित्र नै मारिएको बताइएको छ ।

गंगाराज २ महिनाअघि मात्रै रुस गएका थिए । नेपाली सेनाको जागिर छाडेर उनी यूएईमा वेटरकाे रुपमा काम गर्थे । त्यहाँ उनले ४ वर्ष बिताए । नेपाली सेनाको जागिरबाट राजीनामा दिएर उनी वैदेशिक रोजगारीका २०७६ साल मंसिर ७ गते दुबईमा गएका थिए ।  

गंगाराज दुबईमा वेटरकाे जागिर छोडेर केही समयअघि मात्रै उनी रुस छिरेका थिए । ५२-५३ दिन अघिमात्रै उनी रुस गएको इलाम नगरपालिका वडा– ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।  

गंगाराजले हप्तामा एकपटक उतैबाट फोन गर्ने गरेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै वडाध्यक्ष चौहानले जनाए । ‘उता लडाइ चलिरहेको छ । यताबाट फोन गर्न नमिल्ने भन्दै उनले उतैबाट श्रीमतीलाई फोन गर्ने गर्दा रहेछन्,’ वडाध्यक्ष चौहानले भने । 

गंगाराजले नागरिकता ताप्लेजुङको साथीलाई दुबईमा छोडेको पाइएको उनले बताए । ‘साथी आउँदा ल्याइदिन्छ भनेर उनले भनेका रहेछन्,’ उनले भने, ‘मलाई दायाँ–बायाँ भयो भने तिम्रो नम्बर दिएको छु । तिमीलाई सिधै फोन आउँछ । सिधै फोन आएन भने राजदूतावासबाट खबर आउँछ भनेर मारिनुभन्दा अगाडि घरमा श्रीमतीलाई फोन गरेका रहेछन् ।’  

वडाध्यक्ष चौहानका अनुसार गंगाराजको मृत्यु भएको खबर ३ दिनअघि कन्सुलर विभागमार्फत जानकारी आएको थियो । त्यसपछि मृतकका भाइ–बहिनीसहित प्रहरीकहाँ पुगेर खोजीगर्दा पुष्टि भएको थियो । 

गंगाराजको शव नेपाल ल्याउनका लागि वडाले कागजात तयार पारेर पठाएको पनि वडाध्यक्ष चौहानले जानकारी दिए ।  

गंगाराजका छोरा ८ वर्षका मात्र छन् । उनी सानैमा टुहुरो भएका छन् । यस्तोमा गंगाराजको मृत्युको खबरले यतिबेला परिवार मात्र होइन गाउँ नै शोकमा डुबेको छ । शब आउँछ–आउँदैन भनेर चिन्ता छाएको उनका छिमेकीहरू बताउँछन् ।

रुसमा गंगाराजसँगै ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की र दोलखाका मेलुङ गाउँपालिका–६ का राजकुमार रोका रहेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्