
महोत्तरीबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना भएको छ ।
उक्त एम्बुलेन्स बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा३ख ६७९० नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो
दुर्घटनाबाट एम्बुलेन्समा सवार पाँचैजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले लोकान्तरलाई जानकारी दिएको छ ।
एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका–१ का ४० वर्षीय इकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अबरार अन्सारी र भंगाहा नगरपालिका–१ का २१ वर्षीय चालक जयकुमार राउत घाइते भएका छन् ।
उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ । घाइते सबैलाई बिहीवार बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं ल्याइएको छ ।