
बुद्धिचाल महासङ्घको तत्वावधानमा छ दिनसम्म सञ्चालन भएको एसियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका दुई हजार तीन सय ९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जीतेका छन् ।
उनले नौ चरणको प्रतिस्पर्धामा छ जीत र तीन बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद एक लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेन माथि जीत हात पार्दै एकल विजेता बनेका हुन् । नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सात÷सात अङ्क जोड्दै उपविजेता बनेका बङ्गलादेशका आइएम मोहम्मद मीनहाज उद्दिनले नगद रु ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दरप्रीत सिंहले नगद रु ४० हजार जित्न सफल बनेका छन् । होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बङ्गलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बङ्गलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अङ्क प्राप्त गर्दै चौथौँदेखि दशौँ स्थानमा समेटिन सफल बनेका थिए । हेटौँडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआइएम शुश्रुत दाहाल बाह्रौँ, डेबोस्निक तेह्रौ, आशिष राज चौधाँै र भारतका आदित्य बर्टके पन्ध्रौँ स्थान हासिल गर्न सफल भएका थिए ।