१८ असार २०८३, बिहीबार

वडाध्यक्षलाई भित्रै थुनेर मध्यराति घरमा आगजनी

मंसिर १८, २०८०
विराटनगर
वडाध्यक्षलाई भित्रै थुनेर मध्यराति घरमा आगजनी

धनकुटामा बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो। 

डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए । राति १२ बजेपछि आगो लगाइएको उनको भनाइ छ । 

‘बरन्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो लगाइ दिएछन् ,’ वडाध्यक्ष गुरागाईँले भने, ‘धुवाँको मुस्लो आउन थालेपछि निस्कन खोज्दा बाहिरबाट ताला लागेको रहेछ ।  छिमेकीलाई बोलाएर झ्यालमा भर्‍याङ लगाएर ज्यान चाहिँ जोगायौँ ।’

तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुइटा ग्यास सिलिन्डर भेलागरी कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको उनले बताए । ‘किचनमा सिरक डस्ना र दुइटा सिलिन्डर एकै ठाउँमा भेला गरेर आगो लगाइएको रहेछ । माथिल्लो तलामा चढ्ने लिस्नो (भर्‍याङ) घर बाहिर थियो । लिस्नो घोप्टे बनाएका थियौं । हामी दिउँसो मुनिबाट घोप्टेमा ताला लगाउँथ्यौँ । हामीले नै प्रयोग गर्ने ताला लगाएर आगो लगाइएको रहेछ । तीन वटै कोठामा आगो लगाइएको रहेछ । तर धन्न हामी चाहिँ बाच्यौं ’वडा अध्यक्ष गुरागाईँले भने । घरमा गुरागाईँ दम्पति बस्ने गरेका थिए । 

प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ । ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले भने ‘थप अनुसन्धान गरिरहेका छौं । वास्तविकता चाँडै खुल्छ ।’

salt training

कमेन्ट गर्नुहोस्