०९ साउन २०८३, शनिबार

प्रथम किरात गोल्डकप : ताप्लेजुङ सेमिफाइनलमा

मंसिर १९, २०८०
काठमाडौं
प्रथम किरात गोल्डकप : ताप्लेजुङ सेमिफाइनलमा

पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँलाई ४–३ गोलअन्तरले पराजित गर्दै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । 

फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा कठिन जीत निकाल्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी स्वदेशीमध्ये कोशी प्रदेश बाहिरको एक मात्रै टोली हिमालयन शेर्पा भने समूह चरणबाट बाहिरिन पुगेको छ । 

आजको खेलमा ताप्लेजुङका मञ्जित याङ्देनले खेलको तेस्रो मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए । २१औँ मिनेटमा विदेशी खेलाडी ओस्करले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा ल्याए । ४०औँ मिनेटमा प्रविन जबेगुले गोल गरेपछि ताप्लेजुङ पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता लिन सफल भयो ।

हिमालयन शेर्पाका लागि वसन्त ओझाले खेलको ५२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा ल्याउन सफल भए । तर ६२औँ मिनेटमा ताप्लेजुङका दीपेश लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ६९औँ मिनेटमा डिबक्स नजिकैबाट भएको थ्रो प्रहारलाई बचाउन खोज्दा ताप्लेजुङका आशीष लिम्बूले गरेको हेड गोलमा परिणत भइदियो । ३–३ को बराबरीमा रहेको अवस्थामा ताप्लेजुङका लागि ७७औँ मिनेटमा पुन ः प्रविन जबेगुले गोल गरे । जबेगूको अन्तिम गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू घोषित भए । हिमालयन शेर्पा क्लबको प्रहारको उत्कृष्ट बचाउ गरेका गोलरक्षक लिम्बूले रु पाँच हजार, प्रमाणपत्र र पदक प्राप्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्