
रुसी सेनामा भर्ती गराइदिने भन्दै अवैध बाटोमार्फत रसिया पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलबाट हरि विश्वकर्मासहित उनको समूहका ६ जना, सुजाता दाहाल र उनको समूहका ५ जना र हरि अधिकारीलाई बुधवार सार्वजनिक गरेको हो ।
रुस–युक्रेन युद्ध शुरू भएपछि नेपालीहरू पनि भर्ती भएको समाचार बाहिरिएको थियो ।
परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा रुसी सेनामा भर्ती भएका ६ जनाको मृत्यु भएको बताएको छ ।
त्यसपछिको अनुसन्धानबाट रसिया पठाउने ३ वटा गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार उनीहरूले नेपालीलाई ७ लाखदेखि १२ लाखसम्म लिएर रसिया पठाउनेका गरेका थिए ।
प्रहरीले सुजाताको साथबाट २७ वटा र ईश्वर अधिकारीको साथबाट १६ वटा पासपोर्ट बरामद गरेको छ ।
उनीहरूले रसियामा डिपार्टमेन्ट स्टोर, रसियन सेना लगायतका क्षेत्रमा काम लगाउने भन्दै पैसा असुलेको प्रहरीले जनाएको छ ।
विशवकर्माको समूहले अहिलेसम्म १८ जनालाई रसिया पठाएको स्वीकार गरेको छ । उनले काठमाडौंमा म्यानपावर सञ्चालन गर्दै आएका छन् ।
सुजाताले रसियन दूतावास अगाडि कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी छिन् ।
उनले आफूले रसिया जानेलाई डकुमेन्ट लगायतका विषयमा सहयोग गर्दै आएको प्रहरीलाई प्रारम्भिक बयान दिएकी छिन् ।
अवैध बाटोमार्फत रुसी सेनामा जानेमा प्रहरी कर्मचारी समेत रहेका छन् ।
रसियन सेनामा गएर आएका सशस्त्र प्रहरीका २ जना र नेपाल प्रहरीका २ जना रहेको एसएसपी खत्रीले बताए ।
‘रुस जानेमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू छन्,’ एसएसपी खत्रीले भने ।
सशस्त्रका २ जना रसियन सेनामा २ महिना तालिम गरेर फर्केका छन् । प्रहरीका अनुसार उनीहरूले युक्रेन सिमाना नजिकै गएर करिब २ महिना तालिम गरेर भागेर आएका हुन् ।
विश्वकर्माको समूहले विभिन्न सामाजिक सञ्जालबाट विज्ञापन गरेर मानिसहरूलाई सम्पर्क गर्ने गरेका थिए । ‘उनीहरुले रसियामा डिमाण्ड छ, राम्रो आम्दानी हुन्छ, भन्दै विज्ञपान खोलेको अनुसन्धानमा खुलेको छ,’ एसएसपी खत्रीले भने ।
जाने तयारीमा केही बाहालवाल प्रहरीहरू पनि रहेको उनले बताए । एसएसपी खत्रीका अनुसार उनीहरूले भारत र दुबई हुँदै रसिया पुर्याउने गरेका थिए ।
पछिल्लो समयमा नेपाल सरकारले रसियामा भिजिट भिसा बाहेक अन्य भिसा रोकेपछि भारतीय बाटो प्रयोग गर्ने गरेका थिए ।
हरि विश्वकर्माले पछिल्लो समयमा ११ जनालाई नेपालबाट जान नपाएपछि भारतको बाटो प्रयोग गरेर रसिया पुर्याएको स्वीकारेका छन् ।
उनीहरूको समूहले अहिलेसम्म कति जना रसिया पठाए भन्ने यकिन तथ्याङ्क नरहेको जनाएको छ ।