
सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधवार श्रीमान् मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो ।
आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
साथै माइती पक्षले श्रीमान् र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।
धर्ना बस्दा पनि सरकारले न्याय दिन सकेको थिएन । यसपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा बुधवार भएको बहसपछि आरतीका श्रीमान्लाई थुनामा पठाउने आदेश दिइएको हो ।
आरतीले न्याय पाएपछि अधिवक्ता झाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
‘सबैमा खुशीको खबर । आरती साहको मुद्दामा लामो बहसपश्चात् उनका पति मोतीबाबु साहलाई सम्मानित सर्वोच्च अदालतले थुनामा पठाउने आदेश गरेको छ । आरतीको मुद्दामा आशिंक सफलता । सबैमा बधाई !’, उनले फेसबूकमा लेखेका छन् ।