०८ असार २०८३, सोमबार

दशैंमा कुन पुस्तक बढी बिके ?

कात्तिक २०, २०७४
दशैंमा कुन पुस्तक बढी बिके ?
काठमाडौं १३ असोज– बडादशैं नेपालीहरुको यस्तो चाड पनि हो, जुन चाडमा वर्षमै सबैभन्दा धेरै सार्वजनिक विदा हुने गर्छ । दशैंसँगै विदालाई नेपालीले आ–आफ्नो तरिकाले मनाउने गर्छन् । दशैंको विदालाई पुस्तक पढेर मनाउने पुस्तक प्रेमी पनि मस्तै हुन्छन् । केही दशक यता साहित्यको माहोल पनि बाक्लिँदै गएको छ ।

नेपालभर नै बेलाबेलामा पुस्तक प्रदर्शनीले पनि पुस्तकका पाठक बढाएको छ । दशैंमा पनि पाठकले रुचि अनुसारका विभिन्न पुस्तक पढ्ने गर्छन् ।

दशैं शुरु हुनलाग्दा पाठकले दशैं विदाको सदुपयोग गर्ने गरी पुस्तक किन्ने चलन पनि बढ्दो छ । साहित्यिक तथा अन्य कृति विक्री गर्दै आइरहेको बुक मार्ट पोखराका ईश्वर पौडेलले दशैंका बेलामा साहित्यिक पुस्तक किन्ने पाठक थपिएको बताउँछन् । 

पछिल्लो समय बजारमा आएका पुस्तक मध्ये सबैभन्दा धेरै मदनकृष्ण श्रेष्ठको ‘महको म’ पाठकले किन्ने गरेको उनी बताउँछन् । ‘केही दिनमा मात्र यो पुस्तक दुई सय पाँच प्रति विक्री भइसक्यो’,उनी भन्छन्, ‘अन्य पुस्तक पनि विक्री भइरहेका छन् तर तुलनात्मक रुपमा ‘महको म’ बढी विक्री भएको छ ।’

पोखरेली पाठकले दशैंको विदामा मदन पुरस्कार पाएका पुस्तक पनि बढी मात्रामा किन्ने गरेको पौडेल बताउँछन् । नवराज पराजुलीको ‘सगरमाथाको गहिराई’ र घनश्याम कडेंलको ‘धृतराष्ट्र’ अन्य कृतिको तुलनामा बढी पाठकको रोजाइमा परेका छन् यतिबेला । त्यस्तै तीर्थ श्रेष्ठको ‘पाठशाला’, शरदचन्द्र वस्तीको ‘नेपाली कसरी लेख्ने’, लगायतका पुस्तक पनि पाठकले किनेको पौडेल बताउँछन् ।

काठमाडौंको बागबजारमा रहेको प्रगति पुस्तक सदनका दीपक पोखरेलले आफ्नो पसलबाट राजनैतिक कृति बढी विक्री हुने गरेको बताउँछन् । ‘हामीकहाँ आउने धेरै पाठक राजनीतिमा रुचि राख्ने पाठक हुनुहुन्छ, देशको राजनीति र सीमा सम्बन्धी पुस्तक धेरै किन्नुहुन्छ ।’ पोखरेल थप्छन्, ‘राजनीति बाहेक पुरस्कृत कृति पनि राम्रो विक्री हुने गरेको छ ।’

यतिबेला नेपालको संविधान, समकालीन अर्थतन्त्र, अतिक्रमणको चपेटामा लिपुलेक, एचजी वेल्सको विश्वको इतिहास (नेपालीमा अनुवाद गरिएको), नीतिशास्त्र, चाणक्य नीति नेपाल–भारत–चीन सन्धितथा नेपालको इतिहास सम्बन्धी पुस्तक विक्री हुने गरेको पोखरेल बताउँछन् ।

त्यस्तै मण्डला बुक प्वाइन्टले पनि मदनकृष्ण श्रेष्ठको ‘महको म’, हेम प्रभासको ‘उल्झन’, नवराज पराजुलीको ‘सगरमाथाको गहिराई’, घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लगायतका कृति दशैंमा धेरै विक्री गरेको छ ।

पूर्वको विराटनगरमा साहित्यको माहोल बलियो बन्दै गएको छ । विराटनगरमा ठूलो परिणाममा पुस्तक विक्री गर्दै आएको मैनाली पुस्तक भण्डारीकी शर्मिला मैनालीले बजारमा आएका पछिल्ला धेरैजसो कृति राम्रो विक्री भइरहेको बताउँछिन् । ‘यहाँ सधै नै साहित्यिक तथा अन्य कृति विक्री भइरहन्छन्, यता पुस्तक पढ्ने संस्कारको विकास भएको छ’,शर्मिला थप्छिन्, ‘पाठकले सबै खालका पुस्तक पढ्नुहुन्छ, राजनैतिक कृति पनि विक्री हुन्छ, आख्यानात्मक कृति पढ्ने पाठक पनि आउनुहुन्छ ।’

विराटनगर मात्र नभएर इलाम, भोजपुर, धनकुटा, धरान तथा वरपरका पहाडी भेगतिरका पाठक पनि आएर पुस्तक किन्ने मैनाली बताउँछिन् । पूर्वतिर सगरमाथाको गहिराई, धृतराष्ट्र, महको म, कृष्ण धराबासीको तल्लो बाटो र लीलाबोध यतिबेला बढी विक्री भएको उनी बताउँछिन् ।

दशैंसँगै पाठकले पुस्तक पठनमा रुचि देखाएपनि धार्मिक तथा सांस्कृतिक विषयमा भने नेपाली पाठकको रुचि न्यून देखिएको छ । खासगरी आख्यानको बजारमा क्रममा पाठकले स्थापित लेखकका पुस्तकमात्र नपढेर नयाँ लेखकका कृतिपनि प्रशस्तै पढेको स्पष्ट छ ।

salt training

कमेन्ट गर्नुहोस्