इस्तानबुल- टर्कीको एक अदालतले ११७ जना सैनिक अधिकारीलाई पक्राउ वारेन्ट जारी गरेको छ ।

गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो वारेन्ट जारी गरिएको बताइएको छ । टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ ।
टर्की सरकारले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाउँदै आएको छ ।
अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरिएको थियो ।
सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँसम्बद्ध धार्मिक संगठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् ।
गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।
टर्कीमा सन् १०१६ को जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ का क्रममा करिब २५० व्यक्तिको मृत्यु भएको थियो ।
गत वर्ष भएको असफल कूको आरोपमा ५० हजारभन्दा बढी व्यक्तिलाई जेल सजाय भएको छ भने एक लाख ५० हजारभन्दा बढी व्यक्तिलाई आफ्नो पदबाट बर्खास्त गरिएको थियो ।