१० साउन २०८३, आइतबार

भूकम्पपीडित बस्तीबाट जनार्दनले भने- 'रानीमौरीको भूमिकामा छु , कठोर परिश्रममा विश्वास गर्छु'

मंसिर २७, २०८०
काठमाडौं
भूकम्पपीडित बस्तीबाट जनार्दनले भने- 'रानीमौरीको भूमिकामा छु , कठोर परिश्रममा विश्वास गर्छु'
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सामूहिक श्रमले मात्रै सहयोगी समाजको आधार खडा गर्न सकिने बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा खटिएका नेता शर्माले समूहमा काम गर्न र गराउन आफू जिल्लामा व्यस्त रहनु परेको बताएका हुन् । 

भूकम्प गएको पहिलो दिनबाटै जिल्ला पुगेर आफू रानीमौरी शैलीमा र पार्टी पंक्ति र युवालाई माहुरीजस्तै श्रममा खटिने वातावरण निर्माण गरेको उनले बताए । 'राहत वितरणको प्रारम्भिक चरण सकिएपछि त्रिपालबाट मानिसहरूलाई अस्थायी आवासमा लिनुपर्ने समय आयो । २०/२५ हजार बढी घरहरू जोखिमपूर्ण थिए । जता हेर्‍यो उतै उदेक लाग्ने अवस्था थियो,' उनले भने, 'काम कहाँबाट र कसरी शुरू गर्ने भन्नेमा पनि निकै द्विविधा हुने खालको अवस्था थियो । तर, गरेपछि हुँदो रहेछ । रातदिन नभनी गरिँदैछ ।'

भूकम्प प्रभावितलाई सामान्य अवस्थामा फर्काउने विषय सामान्य नभएको उनले बताए । 

'भूकम्प गएको दुई/चार दिन हल्लाखल्ला भयो । राजनीतिक पार्टीका नेता-कार्यकर्ताहरू प्रभावित क्षेत्रमा पुगे । मिडियामा पनि निकै प्राथमिकतासाथ समाचारहरू आए,' उनले भने, 'सधैं सबै मानिसहरूले त्यता मात्रै केन्द्रित गर्नसक्ने कुरा भएन । प्रभावित क्षेत्र बाहेकका मानिसहरूको ध्यान आफ्नो पूर्ववत् दैनिकीमा फर्किनु स्वाभाविकै हो । लालाबाला, वृद्ध–वृद्धा, गर्भवती र सुत्केरी महिलाहरूलाई अलपत्र छोडेर यहाँको निर्वाचित प्रतिनिधिका नाताले म काठमाडौं रहन सम्भव थिएन । जनताका समस्यालाई नजर अन्दाज गर्दै पन्छिने कुरा पनि भएन । ग्लानी र पीडाको भारी बोकेर हरेक दिन मिडियामा तिनको समस्याका समाचारको हेडलाइन हेर्दै कठै ! भन्नुभन्दा जनताको न्यूनतम् व्यवस्थापन गर्ने कुरा नै सही छ भन्ने लाग्यो र म दिनरात नभनी खटिएँ ।' 

जनार्दनले थपे, 'बीचमा केहीसमय निकै उत्साह पनि पैदा भयो । कांग्रेसका केन्द्रीय नेताहरूको टीम आयो । जोशजाँगरसहित युवा नेताहरू आएका छन् । ठूलो पार्टी छ, व्यापक मात्रामा देशभरिका कार्यकर्तालाई स्वयंसेवक बनाएर परिचालन गर्‍यो भने जाजरकोट र रुकुम दुई जिल्लाको कुरा त हो, अस्थायी आवास बनाउन दुई हप्ता पनि नलाग्न सक्छ भन्ने भयो । रास्वपालगायतका नयाँ दल र स्वतन्त्र मेयरहरू पनि यस प्राकृतिक विपत्तिमा मानवीय सहायताका लागि दुई/चार दिन फिल्डमा आइदिए भने त्यही जोशमा देशको ठूलो जनशक्ति परिचालन हुन्छ भन्ने थियो, तर हामी त्यो स्तरमा परिचालन हुन सकेनौं ।'

एमाले अध्यक्षसहितको टोली समेत आइपुगे पनि मिसनमै केन्द्रित भएको उनले खुलाए ।

'बैतडीको झुलाघाटबाट शुरू भएको  एमालेको मध्यपहाडी लोकमार्ग अभियान रुकुम आइपुग्दा एमाले अध्यक्ष ओलीलाई स्वागत गरें । आशा थियो, एमालेले आफ्नो त्यस अभियानलाई दुई–तीन साता जाजरकोट र रुकुममा राख्छ र देशभरिका कार्यकर्ता परिचालन गर्न सक्छ । तर, आफ्नो पूर्वनिर्धारित कार्यक्रम, राजनीतिक एजेन्डाको प्रचार–प्रसार, संगठन निर्माण लगायतका कामहरू थिए होलान्, एमाले मध्यपहाडीको बाटो हुँदै आफ्नो मिसनमा हिँड्यो,' जनार्दनले भने ।

रातदिन खटेर आफूले अस्थायी आवास पुनर्निर्माणको कामलाई एउटा ट्र्याकमा ल्याएको उनको भनाइ छ ।

' रुकुममा जनताको आँखा मतिर केन्द्रित रहनु स्वाभाविकै थियो । यसर्थ मैले रातदिन खटेर अस्थायी आवास निर्माणको कामलाई एउटा ट्रयाकमा ल्याएँ । एक महिना लामो बसाइमा मैले युवाहरू जत्तिकै स्फूर्तिका साथ काम गरें । जनतासँग नियमित संवाद गरें । उनीहरूका भावना बुझें । स्वास्थ्यका हिसाबले आफूलाई पुनर्ताजगीको समय रह्यो यो । दृष्टिकोण अनुसारको व्यवहार, समाजवादी कार्यदिशाअनुसारको जनसम्बन्ध यी सबै कुरामा आफूलाई अपडेट गरिरहने कुरा राजनीतिकर्मीलाई आवश्यक हुन्छ भन्ने भयो,' उनले थपे ।

उनले यो अभियानमा खटिँदाको अनुभव र सिकाइ पनि पत्रकारमाझ बाँडे ।

'सारभूत रूपमा जनताका बीचमा रहँदा, उनीहरूको समस्या समाधानमा भौतिक रूपमा उपस्थित हुँदा, उनीहरूलाई कामद्वारा विश्वास दिलाउँदा र व्यवहारद्वारा आफूलाई भरोसायोग्य साबित गर्दा सबैभन्दा सुखानुभूति हुन्छ, त्यसैले एक महिनाको रुकुम बसाइले काठमाडौंका कामहरूमा केही ढिलासुस्ती भए पनि, पार्टीको रूपान्तरण अभियानमा बागमती प्रदेशमा केही गतिमा कमी आए पनि म साथीहरूलाई  त्यस विषयमा कुरा बुझाउने छु र साथीहरूले बुझ्नुहुनेछ । भूकम्प प्रभावित क्षेत्रका जनता कम्तीमा अस्थायी आवासमा बस्दा बागमतीले पनि सन्तुष्टि पाउँछ भन्ने लाग्छ र सिंगो पार्टीले पनि काममै छ भन्ने कुरा बुझेकै होला ।'

पार्टीको रूपान्तरण अभियानमा जनर्दनलाई पार्टीले बागमती प्रदेशमा जिम्मेवारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्