०३ असार २०८३, बुधबार

रुसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाको भाइरल स्टाटस- देशमा मुठ्ठीभर दलालको जगजगी भयो

मंसिर २७, २०८०
काठमाडौं
रुसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाको भाइरल स्टाटस- देशमा मुठ्ठीभर दलालको जगजगी भयो

रुसी सेनामा भर्ती भएका एक नेपाली युवाको स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना समेत रहेको दाबी गरेका 'डायमन्ड सी म्याग्देली' नामक फेसबूक प्रयोगकर्ताले शृंखलाबद्ध स्टाटस लेख्दै देशमा व्याप्त कुशासनप्रति आक्रोश पोखेका छन् । साथै, परिवार पाल्नकै लागि विदेशिनुपर्ने बाध्यताका बीच स्वेच्छाले रुसी सेनामा भर्ती भएको समेत उनले उल्लेख गरेका छन् ।

'हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झण्डै १ दशक रगत/पसिना बगाइयो । अंशमा केही परिवर्तन त भयो, तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामत: आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पूँजीपतिहरूकै जगजगी छ । परिवर्तनका लागि दशकौं योगदान गरेका हजारौं योद्धाहरू आज परिवार पाल्नकै लागि विदेशका गल्ली-गल्लीमा भौँतारिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ,' युक्रेनी भूमिबाट उनले लेखेको स्टाटसमा भनिएको छ ।

आफूले रुसी सेनाका लागि बन्दुक बोकेकोमा कुनै पछुतो नरहेको पनि उनले उल्लेख गरेका छन् ।

'न हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ, न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीका रूपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ । आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौती त छ नै, यद्यपि हार कहिल्यै मानिँदैन । गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत छ,' उनले अगाडि लेखेका छन् ।

रुसी सेनामा भर्ती हुनका लागि सयौं नेपालीलाई म्यासेज गरिरहेको समेत उनले लेखेका छन् ।

'सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो, के-कसरी हो ? च्यानल मिलाइदिनुपर्‍यो भनेर म्यासेज गरिराख्नुभएको छ, एक-एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन, तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी- यहाँ अहिले भर्ती बन्द छ, दलालहरूको भ्रममा नपर्नुहोला,' उनको स्टाटसको अन्तिममा भनिएको छ ।

null

उनले अर्को एक स्टाटसमा आफ्नो अवस्थाबारे खुलाउँदै रुसी सेनामा भर्ती हुनुको थप कारण प्रस्ट्याएका छन् ।

लेनिनको देशबाट रातो सलाम भन्दै उनले अगाडि लेखेका छन्-

लेनिनको देशमा पुगेर पुटिनको सिपाहीकारूपमा जिम्मेवारी शुरू गरेपश्चात विविध कारणले करिब १ महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन, यद्यपि सबैप्रतिको मीठो सम्झना यथावत्  नै थियो/छ । राइफल त हिजो दशवर्षे जनयुद्धमा पनि बोकेकै हो र आज पनि बोकिएको छ, तर उद्देश्य नितान्त भिन्न छ । अर्थात्, हिजो नेपाली जनताको मुक्तिका लागि र आज पराइ भूमिको रक्षा एवं आफ्नो पारिवारिक व्यवस्थापनका लागि । राजनीति पनि गरौं, त्यसैको सहारामा मिलाएर पारिवारिक व्यवस्थापन पनि गरौं भन्ने सोच राखेको भए पार्टी विभाजनपछि ०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भइसकिएको थियो । अहिलेसम्म सीसीएम बनिसकिन्थ्यो । त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक  व्यवस्थापन गर्न त्यति मुश्किल थिएन, तर निश्कलंकित रही निष्ठाको राजनीति गर्न खोज्ने,आफ्नो कारण आफू स्वयं र पार्टीलाई कुनै दाग नलागोस् भन्ने पवित्र सोच राख्ने मजस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन । विभिन्न बहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफू र पार्टीलाई समेत बदनाम गर्नुभन्दा बरु विदेश गई रगत/पसिना बगाएर परिवारको उचित व्यवस्थापनसँगै पार्टी आन्दोलनलाई भिन्न ढंगले सहयोग एवं समर्थन गर्नु नै बेहतर लाग्यो र अर्को चूनौतीपूर्ण यात्रा शुरू गर्ने कठोर निर्णय गरियो ।

null

उनको यो स्टाटस वालबाटै ५१५ जनाले शेयर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्