
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दामा उच्च अदालत पाटनमा उनको पक्ष र विपक्ष दुवैतर्फको बहस सकिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेकोमा आज (बिहीवार) दिउँसो बहस सकिएको हो ।
खाणका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, सुरेन्द्रकुमार महतो, बार अध्यक्षसमेत रहेका गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खडका र कृष्ण सापकोटाले बहस गरेका थिए ।
यस्तै पूर्वमहान्यायधिवक्तासमेत रहेका अधिवक्ता खम्मबहादुर खाती र मनिराम उपाध्यायले पनि उनकै पक्षमा बहस गरे ।
आज दिउँसो साढे २ बजेपछि सरकारी वकिलहरूले बहस शुरू गरेमा त्यो पनि सकिएको छ । दुवैतर्फको बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ ।
न्यायाधीश कोइरालाको रायले खाण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ । यसअघि उच्च अदालत, पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।
उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।