
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । एक जनाको अस्पताल पुर्याएलगत्तै र एक जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
बिहीबार बिहान जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ मा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
उनका अनुसार दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको उनले बताए ।
मोटरसाइकलमा तीन जना सवार थिए । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।