एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदैगएको बताए । उनले भने, “औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ ।”
सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सुदूरपश्चिम प्रदेशमा हाल सरकारी निकायका १७ ठाउँमा र गैरसरकारीका चार ठाउँबाट शङ्कास्पद एचआइभी सङ्क्रमितको जाँच हुने गरेको छ । यस्तै सङ्क्रमितलाई दैनिक औषधि खुवाउनका लागि १७ ठाउँमा एआरबि सेन्टर सञ्चालनमा छन् ।