
नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले अछामका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल शुरू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा अभियानअन्तर्गत शुक्रवार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामूलक कार्यक्रम गरिएको बताए ।
सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए ।
उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला हिंसा, बालविवाह, छुवाछुत, लागुऔषधलगायत सामाजिक कुसँस्कारलाई कम गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका भएकाले सहयोग गर्नुपर्ने बताए ।
लागुऔषधका घटना बढ्न थालेपछि अछाम–डोटीको सिमाना चौखुट्टे र दैलेख–अछामको सिमाना बेलखेतमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।
गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले नागरिकलाई सचेत बनाउने उद्देश्यले सबै वडामा सचेततामूलक कार्यक्रम सञ्चालनको तयारी भएको बताए ।
अछामको चौरपाटी गाउँपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकाबीच समन्वय गरी लागुऔषध न्यूनीकरण र रोकथामका लागि कडाइका साथ अभियान सञ्चालन गरिने उनको भनाइ छ ।