
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको सुरुङ मार्गको शनिवार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गतिलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महँगो आयोजनाका रुपमा लिइएको बताउँदै उनले कुनै पनि लापरबाही नगर्न निर्माण व्यवसायीलाई सचेत समेत गराएका छन् ।
‘अहिले ८/९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’, मन्त्री ज्वालाले भने, ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं, तर बहाना बनाएर ढिलाई गनए पाइँदैन ।’
मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताए ।
उनले निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।
मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वारसहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो ।
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कपोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको छ ।
निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गति लिन नसकेको स्विकार गरे । उनले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाइन स्वीकृत गरेर काम भइरहेको बताए ।
यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिवार नै निरीक्षण गरेका छन् । सडक निर्माण समयमा पूरा नहुँदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापाक भएकाले आफू निरीक्षणमा आएको उनले बताए ।
‘बुटवल–नारायणगढ सडकको कामको गति बढेको छैन, सन्तुष्ट छैनौं’ मन्त्रीले भने, ‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुट्छौं ।’
सडकका विषयमा नागरिकहरूको अत्यधिक गुनासो रहेकाले कुनै पनि बहानामा काममा ढिलाई नगर्न उनले निर्देशन दिए ।
उक्त अवसरमा बुटवल–नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शशांक मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाई भएको बताए । उनका अनुसार नारायणगढ–बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ ।
मन्त्री ज्वालासहितको टोलीले शनिवारै हुलाकी सडकखण्डकोसमेत निरीक्षण गरेको छ ।