
तनहुँमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार शनिवार दिउँसोव्यास नगरपालिका वडा नम्बर १ बुल्दीपुल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट दमौली तर्फ आउँदै गरेको ग १ ज ३७३२ नम्बरको ट्याक्सीले सुरुमा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
स्थानीय नाहिशा गुरुङ र निहा गुरुङलाई ठक्कर दिएसँगै उक्त ट्याक्सी अनियन्त्रित भई सडकदेखि अन्दाजी २ मिटर तल खस्न खस्दा पैदल यात्रीहरू सहित ट्याक्सीमा सवारहरू घाइते भएका थिए ।
घाइतेमध्ये गण्डकी मेडिकल कलेज पोखरामा पैदल यात्री नाहिशा र निहाको उपचार भइरहेको छ ।
यस्तै मणिपाल शिक्षण अस्पताल पोखरामा यात्रुहरू पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने हेमकला राई, विष्णु कुमारी गुरुङको उपचार भइरहेको छ ।
यसैगरी दमौली अस्पतालमा ट्याक्सी चालक गौतम गुरुङ र सपना अधिकारीको उपचार भएकामा डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।