२५ असार २०८३, बिहीबार

राप्रपाले देशको अवस्थालाई ध्यान दिएर सडक संघर्षलाई प्राथमिकता दिने

पुस १, २०८०
काठमाडौं
राप्रपाले देशको अवस्थालाई ध्यान दिएर सडक संघर्षलाई प्राथमिकता दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आइतवार अपरान्ह जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेका छन् । 

सो अवसरमा उनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै सत्ताकेन्द्रित नहुने स्पष्ट पारे । यस्तै उनले देशको अवस्थालाई ध्यान दिइ सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने बताए । 

‘राप्रपाको सत्ताकेन्द्रित नभइ आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिइ सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुनेछ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउधन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे । भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

साथै अध्यक्ष लिङ्देनले राप्रपाको एजेण्डाका पक्षमा जनमत बढ्दै गएको निश्कर्षसमेत निकाले ।

‘समान विचार भएकाहरूसंग एकता, सहकार्य आवश्यक र सम्भव पनि छ । आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौं । राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ,’ उनले थपे ।

बैठकमा महामन्त्री डा धवलशमशेर राणाले बृहद् आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेश गरेका छन् । आइतवार अपरान्ह प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेश गर्दैछन् । 

सबै प्रदेशको प्रतिवेदन पेश भइसकेपछि आइवार नै छलफल प्रारम्भ हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्