
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि अन्तरदेशीय सामूहिक प्रयास जरुरी रहेको बताएका छन् ।
भ्रष्टाचारको प्रवृत्ति र प्रकृति अन्तरदेशीय भएकाले यसको नियन्त्रणमा पक्ष राष्ट्रहरूको सामूहिक प्रयास र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
अमेरिकाको एटलान्टामा हालै सम्पन्न भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको १० औं सम्मेलनलाई सम्बोधन गर्दै अख्तियार प्रमुख राईले भ्रष्टाचार नियन्त्रणका लागि पक्ष राष्ट्रहरूको सामूहिक प्रयास र सहकार्य जरुरी रहेको बताए ।
महासन्धिले व्यवस्थित गरेका कानूनी एवं संस्थागत उपायलाई नेपालले अवलम्बन गरेकाले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गरेको अख्तियार प्रमुख राईको भनाइ थियो ।
‘भ्रष्टाचार नियन्त्रणमा नेपालले ‘एक्स–एन्टे तथा एक्स–पोस्ट’ उपायहरू अवलम्बन गरेकाले सफलता हासिल गर्दै गएको र महासन्धिले व्यवस्थित गरेका कानूनी एवं संस्थागत उपायहरूलाई आफ्ना संयन्त्रमा तादम्य बनाउँदै गएकाले कार्यान्वयनमा सहज भएको छ,’ राईले भने ।
भ्रष्टाचार गम्भीर अपराध भएको र यसले विकासलाई कमजोर बनाउँदै सरकारप्रतिको विश्वसनीयता घटाउने राईको भनाइ थियो । नेपाल भ्रष्टाचार नियन्त्रणका लागि दृढसंकल्पित रहेको र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको पनि उनले उल्लेख गरे ।
‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको कुरा बताउन पाउँदा धेरै खुसी लागेको छ,’ सम्मेलनमा उनले भने ।
‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि कानून कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन गर्न र राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न नेपाल प्रयासरत छ,’ प्रमुख आयुक्त राईले भने ।
भष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भएता पनि नेपालले भ्रष्टाचारविरुद्धको लडाईंमा धेरै संरचनात्मक चुनौतीहरू सामना गरिरहेको राईले बताए ।
‘भ्रष्टाचारको जरा सामाजिक, राजनीतिक र कानूनी संरचनामा गहिरोसँग गाडिएकाले यसको दिगो सफलताका लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ,’ राईले भने, ‘यी चुनौतीका बावजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध छ ।’
डिसेम्बर १३ (मंसिर २७ गते)को सेसनमा प्रमुख आयुक्त राईले नेपालको तर्फबाट सम्बोधन गरेका थिए । प्रमुख आयुक्त राईले नवनिर्वाचित अध्यक्ष राष्ट्र अमेरिकाका रिचर्ड नेफ्युलाई बधाई समेत दिए ।
दशवटा विभिन्न क्षेत्रगत विषयमा पक्ष राष्ट्रहरूबीच भएको छलफलमा नेपालले सक्रिय सहभागिता जनाएको थियो ।
सम्मेलनमा आयोगका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव लीलादेवी गड्तौला, संयुक्त राष्ट्र संघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतले भाग लिएका थिए ।