
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ ठेगाना भएका २४ वर्षीय अनिल कुमार साह रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार साह मलेसियाबाट स्वदेश फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन् । गत मंसिर २५ मा उनले मलेसियामै झापाको शिवसताक्षी नगरपालिका घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेको आरोप लागेको छ ।
मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर घटनाको अनुसन्धान थालेको छ ।