
त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९औं दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रंगशालामा समारोह आयोजना गरिएको छ ।
बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरू गर्ने कार्यक्रम रहेको छ ।
समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी समारोह स्थलमा प्रवेश गर्नुपर्ने र सिटिङ एरेन्जमेन्टअनुसार तोकिएको स्थानमा बसिसक्नुपर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित हुँदैछन् । तर, त्रिविमा कुल ७३ हजार विद्यार्थीहरू उत्तीर्ण भएकोले उनीहरू सबै दीक्षित भएको मानिने त्रिविले दाबी गरेको छ ।
विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै 'अफिसियल वर्ल्ड रेकर्ड–ओडब्लुआर'मा समेत आवेदन दिएको छ । जसका लागि ओडब्लूआरका प्रतिनिधि पनि नेपाल आइसकेका छन् ।
उनीहरू आज हुने दीक्षान्त समारोहमा उपस्थित हुनेछन् ।