
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ । यसअघि मंसिर २८ र २९ गते तय भएको बैठक आजलाई सारिएको थियो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सङ्गठन निर्माणमा समर्पित, पार्टीको वैचारिक दृष्टिकोण जनतासम्म पुर्याउन सक्षम तथा अहिलेसम्म अवसर प्राप्त नगरेका नेतालाई प्राथमिकतामा राखेर मापदण्ड बनाइने उनले बताए ।
पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उपमहासचिव खतिवडाले जानकारी दिए ।
यस्तै, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
बैठकले गर्ने निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।