
मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरू भएको छ ।
विवाह पञ्चमीको अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरू भएको हो ।
मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरूले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युगदेखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।
महोत्तरी र धनुषाका विभिन्न स्थानमा आजदेखि एक सातासम्म सर्वसाधारणले वैवाहिक कार्यक्रम गर्नेछन् ।
विवाह पञ्चमी उत्सवअन्तर्गत यसपाली मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि, पुस १ गते स्वयंवर तथा विवाह पञ्चमी (शुभ विवाह) र आज राम कलेवा हुने छ ।