३१ जेठ २०८३, आइतबार

बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदै

पुस ३, २०८०
काठमाडौं
बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदै

शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुने भएको छ ।

नेपाली सेनाद्वारा आयोजना हुने उक्त अभ्यास आगामी फागुन ८ देखि २१ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पीस अपरेशन इनिसिएटिभको सहयोगमा हुने अभ्यासको पूर्वतयारी स्वरुप गत मङ्सिर २५ बाट २९ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अस्ट्रेलियालगायत देशका प्रतिनिधि सम्मिलित योजना सम्मेलन सञ्चालन भएको थियो ।

नेपाल, बङ्गलादेश, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका सैनिक सम्मिलित भई नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास एक सञ्चालन भएको थियो । सन् २०१३ मा २३ राष्ट्रका आठ  सय ५० सैनिक र सन् २०१७ मा २९ राष्ट्रका एक हजार एक सय ३५ सैनिक सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भई सकेको पनि निर्देशनालयले जनाएको छ ।

अभ्यास शान्ति प्रयासको चौथो संस्करणमा नेपालसहित २२ राष्ट्रका सैनिकको सहभागिता रहने प्रारम्भिक योजना छ । अभ्यासमा कर्मचारी प्रशिक्षण, विषयगत प्रशिक्षण र क्रिटिकल सक्षम र क्षमता अभिवृद्धि गरी तीन किसिमका गतिविधि समावेश हुनेछन् । सोही अवधिभित्रै शान्ति कार्यसम्बन्धी क्षेत्रीय तालिम पनि आयोजना हुनेछ ।

 अभ्यासबाट शान्ति स्थापना कार्यमा देखापरेका चुनौतीका बारेमा सहभागी राष्ट्रका सैनिक अवगत हुने र चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्