०८ साउन २०८३, शुक्रबार

किसान परिचयपत्र उपलब्ध गराउन माग

पुस ४, २०८०
चितवन
किसान परिचयपत्र उपलब्ध गराउन माग
फाइल तस्वीर

इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् । 

इच्छाकामना–५ तामिनमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका रामप्रसाद बोहोराले वास्तविक किसान सामु अनुदान नपुग्दा अनुदानका कार्यक्रम उपलब्धिमूलक नभएको बताए । 'गत असारमा इच्छाकामनामा पाँच हजार वटा सुन्तलाको बिरुवा वितरण गरियो, तर अहिले ती बिरुवा पाएका किसानले कति बिरुवा रोपेर बचाएर राखेका छन्, कुनै हिसाबकिताब छैन, कतिले त रोपेकै छैनन् । त्यतिकै सुकाएर फालेका छन्,' उनले भने, 'वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्छ । त्यसका लागि गाउँपालिकाले किसानको पहिचान गरी परिचयपत्र उपलब्ध गराउनुपर्छ ।' अनुदान उपलब्ध गराएपछि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने बोहोराको भनाइ छ । 

वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले पनि वडा नं ५ मा वितरण गरिएको सुन्तलाका बिरुवा किसानले नरोपी सुकाएर खेर फालेको बताए । इच्छाकामना–३ का किसान रामबहादुर गुरुङले पनि वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने बताए । गाउँपालिकाले अनुदान कार्यक्रम ल्याउँदा कतिपय किसानसम्म सूचना नै नपुग्ने उनको गुनासो छ ।

'बिचौलियाले व्यापारीलाई किसानको बारीसम्म जान दिँदैनन्, हामीले बाध्य भएर बिचौलियामार्फत बिक्री गर्दा मूल्य पाउँदैन,' उनले भने । अहिले सुन्तलाको मूल्य बजारमा उपभोक्ताले महँगो मूल्यमा किनेर खान परे पनि  वास्तविक किसानले भने उचित मूल्य नपाएको उहाँको गुनासो छ । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले वास्तविक किसानको पहिचानका लागि चाँडै परिचयपत्र वितरण गरिने बताए । अहिले विवरण सङ्कलन कार्य भइरहेको बताए। उनले भने, 'हामी गाउँपालिकाका वास्तविक किसानको पहिचानका लागि परिचयपत्र वितरण गर्दैछौँ अहिले विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ, विवरण  सङ्कल गर्न  केही वडामा मात्र बाँकी छ ।'

परिचयपत्र उपलब्ध गराएपछि अनुदान वितरणमा सहज हुने उनको भनाइ छ । गाउँपालिकाले किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका  छन् । तर पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसानसम्म अनुदान नपुग्ने किसानको गुनासो छ । रासस

salt training

कमेन्ट गर्नुहोस्