
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती विवादमा तानिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन् । क्रिश्चियन महोत्सवमा उनले 'क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोही'को संज्ञा दिएका थिए ।
शुरूमा हेरौं उनले के भनेका थिए ? ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो,’ किराँतीले भनेका थिए ।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि मुछे । किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । ‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’
मन्त्री किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । सर्वसाधारणदेखि केही दलका नेताहरूले समेत उनको आलोचना गरेका छन् ।
किरातीको अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक र गैरजिम्मेवार भएको भन्दै राजीनामासमेत मागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री किरातीले अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’
यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्री किरातीको राजीनामा मागेका छन् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । 'क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किरातीलाई तत्काल वर्खास्त गर्नुपर्दछ,' उनले भनेका छन्, 'पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।'