३१ जेठ २०८३, आइतबार

कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान

पुस ५, २०८०
कञ्चनपुर
कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान
फाइल फोटो

कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएको छ।

जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएको हो ।

तराई भूपरिधि कार्यक्रम (ताल)ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो ।

‘ताल’कार्यक्रमका सहप्रबन्धक कमलराज राईका अनुसार सोभाताल, त्रिशक्ति तथा शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने हात्ती प्रभावित क्षेत्रमा साईरन जडान गरिएका छन् ।

मध्यवर्ती क्षेत्र अन्तर्गतका बेलौरी नगरपालिका–५, शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ मा साइरन जडान गरिएका हुन् ।

यसैगरी त्रिशक्ति मध्यवर्ती अन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिका–१, २, ३, ४ र ५ मा पाँच वटा साइरन जडान गरिएका छन् । शुक्लाफाँटा मध्यवर्ती अन्तर्गत पर्ने मझगाउँलगायत क्षेत्रमा पाँच साइरन जडान गरिएका  सहायक प्रबन्धक राईले बताए । 

‘जङ्गली हात्ती बस्ती प्रवेश गर्ने क्षेत्रको पहिचान गरी साइरन जडान गरेका छौं’, उनले भने, ‘साइरनको स्वीच दबाउँदा आउने आवाजले स्थानीय बासिन्दा सचेत भई सुरक्षित तरिकाले बस्ने छन् भने यसबाट हात्तीका कारण हुने धनजन जोगाउन मद्दत पुग्छ ।’

गत वर्ष चितवनमा पन हात्तीबाट प्रभावित माडी क्षेत्रका पाँच ठाउँमा साइरन जडान गरिएको सहायक प्रबन्धक राईले बताए । सो कार्य प्रभावकारी भएपछि कञ्चनपुरमा पनि साइरन जडान गरिएका हुन् ।​

साइरनको आवाज झन्डै दुई किलोमिटर क्षेत्रमा सुनिने उनको भनाइ छ । कञ्चनपुरको चुरे क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा लालझाडी संरक्षित क्षेत्र जङ्गली हात्ती हिँडडुल गर्ने क्षेत्र हुन् । हात्ती हिँड्ने पुराना बाटा (करिडोर) अतिक्रमणको चपेटामा परेका कारण हात्तीले बर्सेनि बस्तीमा पसेर जनधनको क्षति गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्