०९ असार २०८३, मंगलबार

सन्दीप, सुमनदेखि भरतमणिसहितका चर्चित कमेडियनले अमेरिकामा दर्शक हँसाउने

पुस ५, २०८०
काठमाडौं
सन्दीप, सुमनदेखि भरतमणिसहितका चर्चित कमेडियनले अमेरिकामा दर्शक हँसाउने

नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउने भएका छन् । 

फ्लाइ नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कार्यक्रम आयोजक फ्लाइ नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका छन् । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । 

कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत मनोरञ्जन गराउनेसँगै सीपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए । 

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ  ।’ 

यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन् । 

पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहने विश्वास व्यक्त गरे । ‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर, हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनको भनाइ थियो । 

उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरूले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए । ‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु,’ उनले भने । 

कार्यक्रममा बोल्दै भरतमणि पौडेलले मह जोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।

कार्यक्रममा अमेरिकामा भ्रमणमा रहने बाँकी सहभागीले पनि आ–आफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरूले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घण्टाको रहने जनाएका थिए । 

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो । 
 

salt training

कमेन्ट गर्नुहोस्