
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारबाही गर्न माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ ।
संगठनले बिहीवार दिउँसो पाशुपत क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी धार्मिक अभियन्ता पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले एउटा समुदायको कार्यक्रममा गएर अन्य समुदायलाई अभिव्यक्ति दिनु उनको गैरजिम्मेवारी रहेको बताए ।
बुधवार आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।
यसै अभिव्यक्तिको चर्को विरोध भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण पनि दिइसकेका छन् । तर विरोध रोेकिएको छैन ।