
नेपाल सुपर लिग (एनएसएल)मा वीरगञ्ज युनाइटेडले फराकिलो जीत निकालेको छ ।
बिहीवार काठमाडौंको दशरथ रंगशालामा वीरगञ्जले शीर्ष चारको दौडमा काठमाडौं रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
वीरगञ्जले प्रतियोगिताकै फराकिलो अन्तरको जीत आत्मसाथ गरेको हो । यसका लागि विलियम ओपोकुको ह्याट्रिकको सहयोग रह्यो ।
जीसहित वीरगञ्जले प्ले अफको गणितीय सम्भावनालाई कायम राखेको छ । वीरगञ्जसँगको हारले काठमाडौंको प्ले अफ सम्भावना आफ्नो हातबाट फुत्किएको छ । काठमाडौंलाई प्लेअ फमा छनोट हुन अब अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।
खेलमा अग्रता भने काठमाडौंले जुनियर एन्कुन्गेको गोलमा लिएको थियो ।
लगत्तै काठमाडौंले पेनाल्टीको अवसर पाएको थियो । डिबक्सभित्र मार्की खेलाडी हिसब थपलियालाई फल गरेपछि काठमाडौंले अग्रतालाई दोब्बर बनाउने अवसर पाएको थियो । तर वीरगञ्जका गोलकिपर तथा कप्तान दीप कार्कीले पेनाल्टीलाई रोक्दै टोलीको आत्मबल बढाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा ओपोकुको पेनाल्टी गोलमा वीरगञ्जले खेल बराबरी गरेको थियो ।
दोस्रो हाफमा भने वीरगञ्ज पूर्णत हाबी रह्यो । उसले काठमाडौंको पोस्टमा शुरुवातमै थप तीन गोल गर्यो ।
दोस्रो हाफ शुरू भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै वीरगञ्जलाई २–१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि ओपोकुले ५५ औं मिनेटमा वीरगञ्जका लागि तेस्रो गोल गरे । कर्नरमा प्राप्त बलमा हेडमार्फत उनले दोस्रो गोल गरेका थिए ।
त्यसको दुई मिनेटपछिनै ओपोकुले आफ्नो ह्याट्रिक पूरा गर्दै वीरगञ्जलाई ४–१ को बलियो अवस्थामा पुर्याएका थिए ।
जीतसहित वीरगञ्जले ७ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । काठमाडौं ९ अंकसहित पाँचौं स्थानमा यथावत छ ।