२२ जेठ २०८३, शुक्रबार

विराटनगरमा आजदेखि ट्रेड एक्स्पो, माछाका भुरादेखि मुर्रा भैंसीसम्म रहने

पुस ६, २०८०
विराटनगर
विराटनगरमा आजदेखि ट्रेड एक्स्पो, माछाका भुरादेखि मुर्रा भैंसीसम्म रहने

मोरङ व्यापार संघको आयोजना शुक्रबारदेखि विराटनगरमा ट्रेड एक्स्पो–२०२३ व्यापार मेला आयोजना हुँदैछ । आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ ।

विराटनगर–२ शंकरपुरमा लाग्ने एक्स्पोको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ ।

एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहने व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । 

एक्स्पो आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ । एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदेशका कृषि उत्पादन, अन्तरप्रादेशिक व्यापार संभावना र सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने एक्स्पोको लक्ष्य छ । 

एक्स्पोले आर्थिक क्षेत्रमा उर्जा दिने अपेक्षा गरिएको उल्लेख गर्दै रिजालले स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउने उद्देश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिभल मुभमेन्टका रूपमा पनि आयोजना गरेको बताए । एक्स्पोले यस क्षेत्रको सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने उनको दाबी छ ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले एक्स्पोले शिथिल अवस्थामा रहेको सुनसरी मोरङ औद्योगिक क्षेत्र चलायमान बनाउने अपेक्षा पनि गरिएको बताए । एक्स्पोलाई शिथिल अर्थतन्त्रले कुनै प्रभाव नपारेको भन्दै उनले एक्स्पोमा औद्योगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुको उल्लेख्य कारोबार हुने अपेक्षा रहेको बताए ।

शुरूमा २०० वटा स्टल राख्ने तयारी गरेकोमा औद्योगिक र व्यापारिक घरानाको माग बढेसँगै ४० वटा स्टल थप गरिएको एक्स्पोका संयोजक अनिल साहले बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुने बताइएको छ । 

पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन कोशी प्रदेशवासीलाई संयोजक साहले आग्रह गरेका छन् । एक्सपोमा माछाका भुरादेखि मुर्रा भैंसीसम्म रहने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्