
व्यवस्था परिवर्तन गर्छु भन्दै आन्दोलन गरिरहेका ‘विवादस्पद व्यापारी’ दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् ।
आफ्नै निवास भक्तपुरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले लामिछानेको सत्तामोहप्रति लक्षित गर्दै बच्चाले चिनीको भाडो भेटाएजस्तै गरिरहेको टिप्पणी गरेका हुन् । छोटो समय उपप्रधानमन्त्री बनेका लामिछानेलाई मन्त्रीको लत लागेको उनले टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा प्रसाईंले युवा पलायनको कुरा गर्न छाडेर मिसन २०८४ भनिरहेको आरोप लगाएका हुन् । ‘बच्चाले चिनीको भाँडो भेटायो भने छाड्दैन नि ! उनी मिसन २०८४ भनिरहेका छन् । यस्तै अवस्था रहे २०८४ मा नेपालमा ३० लाख मान्छे रहन्नन्,’ उनले भने ।
प्रसाईंले लामिछानेको सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई त्यही बेला केही कुरा सुनाएको खुलाए ।
‘त्यो बेला त हजुरबुवा (ओली)सँग मेरो राम्रो थियो नि ! हेर नाति, यसलाई एक महिनामा लात हान्छन्, भनेर भनेका थिए,’ उनले थपे ।
लामिछानेमाथि पोखरामा शनिवार मकैको खोया प्रहार गरिएको घटनाप्रति प्रसाईंले भने, ‘मजस्तै अभियन्ता बन्नु प¥यो नि !’