काठमाडौं १५ असोज– स्थानीय तहको चुनावमा पहिलो बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रस्ताव गरेको छ । वामपन्थी गठबन्धन गरेर प्रदेश र केन्द्रमा बहुमत ल्याउने एमाले रणनीति छ ।

एमाले स्थायी समितिको आइतवार बसेको अनौपचारिक बैठकले माओवादीसंग चुनावी तालमेलको प्रस्ताव गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘माओवादी केन्द्र, नेकपा माले लगायत अन्य वामपन्थी दलसंग चुनावी तालमेलको प्रस्ताव गरेका छौ’ सचिव ज्ञवालीले लोकान्तरसंग भने, ‘माओवादीका तर्फबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेका छौ ।’
एमालेले केन्द्रीय समिति बैठकबाट वामपन्थी र प्रगतिशीलहरुसंग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि परिवर्तनका पक्षधरहरुसंग चुनावी तालमेलको निर्णय गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रदेश र संघको चुनावमा विभिन्न राजनीतिक दलहरुसंग चुनावी तालमेल हुन सक्ने बताउदै आएका छन् । चुनावी तालमेलका लागि एमाले नेताहरुले माओवादीसंग अनौपचारिक छलफल चलाएको स्रोतको दावी छ ।
माओवादी राजी भएमा एमालेले औपचारिक निर्णय गरेरै उसंग चुनावी तालमेलको प्रस्ताव गर्ने सचिव ज्ञवालीले बताए । ‘सहकार्यको मोडालिटि कस्तो हुने भन्ने लगायत बिषयमा गृहकार्य गर्न बाँकी छ, सैद्धान्तिक रुपले तालमेलको कुरा अगाडी सारेका हौ’ ज्ञवालीले भने ।
कांग्रेस पनि माओवादीसंगको गठबन्धनलाई बलियो बनाउने रणनीतिमा लागेको छ । यसअघि कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावमा तालमेल गरेका थिए । माओवादीका कतिपय नेताहरु भने एमाले भन्दा कांग्रेससंग तालमेल गर्नुपर्ने अडानमा छन् ।
‘एउटै देशमा दुईवटा कम्युनिष्ट पार्टी रहन्छ कि रहदैन भन्ने सैद्धान्तिक दृष्टिकोणमा माओवादी र हामीबीच अन्तर छ । माओवादी दुइवटा कम्युनिष्ट पार्टी रहदैन भन्छ, बुर्जुवा पार्टी धेरै भएको ठाउमा विशेष परिस्थितीमा कम्युनिष्ट पार्टीपनि एकभन्दा बढी हुन सक्छ भन्ने हाम्रो मान्यता छ’ ज्ञवालीले लोकान्तरसंग भने, ‘प्रचण्डले भनेजस्तै एक आपसमा मिल्ने या एउटाले अर्कोलाई निल्ने अबस्था नरहेकोले अहिलेको परिस्थितीमा दुइवटा कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरेर जान सकिन्छ भन्ने हाम्रो प्रस्ताव हो ।’
मध्यम तहका नेताहरुले चुनावी तालमेलको कुरा गरेपनि माओवादी अध्यक्ष प्रचण्डका कतिपय अभिव्यक्तीबाट एमाले आश्वस्त हुन सकेको छैन् । ‘एमाले नसिद्धिउन्जेल माओवादी ठूलो पार्टी बन्न सक्दैन’ भन्ने प्रचण्डको अभिव्यक्तीलाई लिएर एमालेमा आशंका कायमै छ ।
तर प्रचण्डको सो अभिव्यक्ती ‘मतदाता आकर्षण गर्ने स्टण्ट’ मात्र रहेको माओवादीका नेताहरुले बताउदै आएका छन् । एमालेले स्थानीय तहको चुनावमा पाएको जनादेशलाई आधार मानेर सोही अनुपातमा चुनावी तालमेल गर्न प्रस्ताव गर्ने तयारी गरेको छ ।
एमालेसंग तालमेलको सम्भावना छः भुसाल माओवादी केन्द्रले पनि एमाले लगायत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र परिवर्तनका पक्षधर शक्तिहरुसंग चुनावी तालमेल गरेर जाने बताएको छ ।
‘परिवर्तनका पक्षधर शक्तिहरुसंग चुनावी तालमेल गरेर जाने निर्णय गरिसकेका छौ’ माओवादी प्रवक्ता पम्फा भुसालले लोकान्तरसंग भनिन, ‘कांग्रेस, एमाले लगायत परिवर्तन पक्षधर पार्टीसंग चुनावी तालमेल हुनसक्छ ।’