
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिलाई लिएर सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी र राप्रपा सांसदबीच भनाभन भएको छ ।
बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा माओवादी र राप्रपाका सांसदबीच चर्को विवाद भएको हो ।
कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन इसाई धर्मावलम्बी रहेको भन्दै राप्रपा महामन्त्री धवलशमशेर जबराले आरोप लगाएपछि समितिमा भनाभन भएको हो । छिमेकीसँग बुझ्दा पुन इसाई भएको प्रमाण आफूहरूले पाएको जबराले बताए ।
त्यसको प्रतिवाद गर्दै माओवादी सांसद छिरिङ ल्हामु लामाले एकजना महिलालाई अगाडि बढ्न नदिन क्रिश्चियन भन्ने आरोप लगाइएको बताइन् ।
त्यसपछि समितिमा भनाभन शुरू भएको थियो । सांसद लामाले उठेरै विरोध जनाएकी थिइन् ।
यसैबीच, समितिले कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी कागजात ३ दिनभित्र उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उडुयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समिति सभापति राजकिशोर यादवले नियुक्तिसम्बन्धी कागजात उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए ।
सरकारले पुस ४ गते कोषको कार्यकारी निर्देशकमा माओवादी केन्द्रीय सदस्य समेत रहेकी पत्रकार लक्ष्मी पुनलाई नियुक्त गरेको थियो ।