०५ साउन २०८३, मंगलबार
फस्टाउँदै अवैध हुण्डी कारोबार

विराटनगरमा मौलाउँदै हुण्डी: भरिया मात्रै पक्राउ गर्छ प्रहरी, मालिकसम्म पुग्दैन अनुसन्धान

पुस १३, २०८०
विराटनगर
विराटनगरमा मौलाउँदै हुण्डी: भरिया मात्रै पक्राउ गर्छ प्रहरी, मालिकसम्म पुग्दैन अनुसन्धान

विराटनगरमा पटक-पटक स्रोत नखुलेको अवैध रकम बरामद भइरहेका छन् । बुधबार १९ लाख ९० हजार रुपैयाँ नगदसहित विराटनगरबाट सुनसरी देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षे सुरेन्द्रप्रसाद साह पक्राउ परे । स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनी जय माता ट्रेडर्स देवनगन्जमा धान चामलको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ । 

अवैध रकम हुण्डीको पैसा गन्तव्यसम्म लैजाँदै गर्दा प्रहरीले विराटनगर–६ केशलिया मार्गबाट साहलाई पक्राउ गरेको हो । यसअघि कार्तिक १४ गते २१ लाख ८७ हजार रुपैयाँसहित एक जना १६ वर्षे बालक पनि पक्राउ परेका थिए । उनले पनि हुण्डीबापत भुक्तानी गर्नुपर्ने रकम ढुवानी गरेको प्रहरीको दाबी थियो । 

हुण्डी कारोबारीले १८ वर्ष उमेर नपुगेका बालबालिका कानुन नलाग्ने भन्दै अपराधमा बालबालिका प्रयोग गरेको भनिएको थियो । उक्त घटनाबाट हुण्डी कारोबारमा विकेक गुप्ता र मनोज साह संलग्न रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अनुसन्धानबाट खुलेको थियो । घटनापछि उनीहरू फरार छन् । साह सुनचाँदी पसल व्यवसायी रहेको बुझिएको छ । उनीहरू भारतमा रहेको प्रहरी स्रोतले जनाएको छ । 

अदालतबाट पक्राउ पूर्जी जारीगरी अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनीहरूलाई फरार अभियुक्त बनाएर अदालतमा अभियोग लैजाने तयारी गरिएको छ । 

फागुन २६ गते विराटनगर–१५ सुडी बस्ती बस्ने धर्मानन्द साहलाई पनि प्रहरीले हुण्डीको रकमसहित विराटनगरबाट पक्राउ गरेको थियो । प्रहरीले साहको साथबाट ४ लाख ७५ हजार रुपैयाँ बरामद गरेको थियो । 

गत माघ २६ गते विराटनगर १५ बस्ने रंजितकुमार साहको साथबाट प्रहरीले हुण्डीको ९ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । 

अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त राय गत असोज २७ गते नगद १० लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ परेका थिए । 

हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्‍यो । प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको थियो ।

यसले विराटनगरमा अवैध हुण्डी कारोबार फस्टाएको देखाउँछ । चालु आर्थिक वर्षको चार महिनामा मात्रै मोरङ प्रहरीले हुण्डीको रकमसहित चार जनलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै भरिया मात्र हुन् । भरिया पक्राउ परे पनि सञ्चालकसम्म अनुसन्धान पुग्न सकेको छैन । 

प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान र कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने गरेको छ । अनुसन्धान कार्यालयका अधिकृतहरू पनि प्रहरीले पक्राउ गरेर दिएको बाहेक थप अनुसन्धान गर्दैनन् । बरु उनीहरूले पनि धरौटीमा छाड्ने गरेका छन् । 

‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन भरिया र हुण्डी कारोबार गर्ने मुख्य मान्छेबीच चिनजान नै हुँदैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि मुख्य अभियुक्त पक्राउ गर्न सकिरहेका छैनौं ।’

विराटनगरमा विभिन्न व्यवसाय, सहकारी र संस्थाहरू सञ्चालनको नाममा हुण्डी कारोबार हुने गरेको प्रहरीको भनाइ छ । हुण्डीको पैसा बोकेर सम्बन्धित ठाउँमा पुर्‍याउने भरियालाई मात्र पक्राउ गरिरहँदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेहरू भने सुरक्षित रहँदै आएका छन् । 

अवैध हुण्डीको कारोबार गर्ने गिरोहले एक लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनुपर्ने भएकोले अवैध धन्दा गर्नेहरूले हुण्डीको प्रयोग गर्दै आएका छन् ।

हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छल्न पाइने भएकोले विराटनगरमा धन्दा फस्टाउँदै गएको प्रहरीको निष्कर्ष छ । यसको जालो अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्