इस्लामावाद, १६ असोज– पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएका छन् ।
भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट बर्खास्त भइका पूर्वप्रधानमन्त्री शरिफ सोमवार दोस्रो पटक सो अदालतसामु उपस्थित भएका हुन् ।
उनी सोमवार बिहान सो अदालतमा उपस्थित हुदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको समाचारमा उल्लेख गरिएको छ ।
अदालत परिसरलाई प्रहरीले पूरै घेरा हालेको थियो । सो सुरक्षा घेराबाहिर उपस्थित उहाँका समर्थकहरुले शरिफको पक्षामा नाराबाजी लगाएका थिए ।
उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी रहेको, उहाँले भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा उहाँलाई दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए ।
उनी अदालत परिसरमा उपस्थित हुँदा पाकिस्तानका ठूलो सङ्ख्याका पत्रकार उपस्थित थिए । उनलाई टेलिभिजनका फोटो पत्रकारहरुले निकै परसम्म पछ्याएका थिए ।
उनीमाथि भ्रष्टाचारको आरोपमा छानबीन शुरु गरेर लामो समयपछि सर्वोच्च अदालतले गत जुलाई महिनामा पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो ।
त्यसयता पनि उनीमाथि अदालतको अनुसन्धान जारी नै छ । उनी दोस्रो पटक सोमबार सो अदालतमा उपस्थित भएका छन् र सम्भवत उनीमाथि जेल सजाय हुनसक्ने अनुमानका समाचारहरु आउन थालेका छन् ।
सोमबारका पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई जेल सजाय हुनसक्ने भनी समाचार सम्प्रेषण गरिरहेका छन् । तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन ।