
नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच एक सम्झौता भएको छ ।
सेवालाई सेवाग्राही समक्ष प्रभावकारी बनाउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउन एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्ने टेलिकमले जनाएको छ।
दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोगगरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ।
बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरे।
आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारे अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ।