
सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय समिति बनाएको छ ।
गृह मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएको हो ।
समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–५ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने विषयमा भएको विवाद तथा झडपमा बरहथवा–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।
प्रवक्ता भट्टराईका हनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि मन्त्रालयले छानबिन समिति बनाएको हो ।
यस्तै सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।
