
नेकपा एमालेलाई राष्ट्रिय सभामा हिस्सा नदिने निर्णयपछि सत्ता गठबन्धनका दल भागबन्डाको निर्णायक छलफलमा जुटेका छन् ।
शनिबार बिहान एमालेलाई कुनै सिट नदिने निर्णय गरेपछि निर्वाचन हुने १९ सिटको भागबन्डाको लागि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपासहितका दल निर्णायक छलफलमा जुटेका हुन् ।
‘आज राष्ट्रिय सभाको निर्णायक भागबन्डा गर्ने तयारीस्वरूप दलहरू साँझबाट छलफलमा जुट्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘आज ढिलासम्म बसेर भए पनि भागबन्डा टुंग्याउने तयारी भएको बुझेका छौं ।’
शनिवार दिउँसोपछि दलहरूले भागबन्डाको अन्तिम छलफल गर्ने बताएका थिए । यसै प्रयासस्वरुप पहिले प्रमुख तीन र त्यसपछि सत्ता गठबन्धनमा दलबीच छलफल गर्ने दलहरू बैठकमा बसेका हुन् ।
खाली हुने १९ सिटमा कांग्रेसले सबैभन्दा धेरै सिट लिने तयारी गरेको छ । उसले १० सिटमा दाबी गरेको छ । माओवादीले ७, नेकपा एस र जसपाले ४/४ सिटमा दाबी गरेका छन् । तर कांग्रेसले ९, माओवादीले ६, नेकपा एसले ३ र जसपाले एक सिट लिने गरी समझदारी गर्ने प्रयत्न दलहरू गर्दै आएका छन् ।
सत्ता सहयोगी दल जनमत, नागरिक उन्मुक्ति र लोसपाले पनि राष्ट्रिय सभामा दाबी गर्दै आएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने तालिका छ । निर्वाचन भने माघ ११ गते हुँदैछ ।